माङसेबुङ। किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ७१ औं शुभ–जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नोमाङगेन्ना सेवाको अवसरमा ईलामको माङसेबुङमा आमन्त्रित पुरुष फुटबल प्रतियोगिता ‘आत्मानन्द गोल्ड कप–२०८१’ आयोजना हुने भएको छ ।
प्रतियोगिता यही मंसिर ९ गतेदेखि २० गतेसम्म माङसेबुङ गाउँपालिका – ५ स्थित आत्मानन्द रंगशालामा हुने आत्म पत्रिव हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङले पत्रकार सम्मेलन गरी जानकारी दिनुभयो । सो फुटबल प्रतियोगितामा नेपाल र भारतका गरि ८ टिम सहभागी हुने पनि उहाँले बताउनुभयो ।
खेलको माध्यमबाट मनोरञ्जन र स्वस्थ जीवनका साथै किरात धर्मगुरुको शान्ति, एकता, मानवता र अहिंसाको सन्देश छर्न प्रतियोगिताको आयोजना गरिएको पनि उहाँले बताउनुभयो ।
आत्मानन्द गोल्ड कपमा नेपालबाट तिजोक यूवा क्लब पाँचथर, दुधे यूथ क्लब झापा, चुलाचुली स्र्पोटिङ क्लब झापा, सिरिजंगा स्पोर्टिङ क्लब मोरङ, दमक भाङबारी स्पोर्टिङ क्लब झापा, माङसेबुङ गाउँपालिका इलाम र आयोजक युथ अफ माङसेबुङ रहेको छन् भने भारतबाट मानेभञ्ज्याङ, दार्जिलिङ पाहुना टोलीको रुपमा सहभागी हुने अध्यक्ष आङबुहाङले जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेताले नगद ३ लाख ११ हजार १ सय ७१ र उपविजेताले नगद २ लाख ५ हजार १ सय ७१ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
खेलमा म्यान अफ द म्याच, बेष्ट गोलकिपर, बेष्ट प्लेयर र हाई स्कोररले पनि आकर्षक पुरस्कार प्राप्त गर्नेछन् । जन्मोत्सवको अवसरमा फुटबलको साथै म्याराथोन, पक्लुङ, लठ्ठा तान्ने, धनुकाँड हान्ने, हाँडी फुटाउने, तेक्वान्दोलगायतका खेलहरु पनि आयोजना गरिने छ ।
खेलको आत्म पवित्र हक्चात यक्चुमले संयोजन गरेको छ भने किराँत धर्मगुरु ७१ औं शुभ जन्मोत्सव महान् समारोहले आयोजना रहेको हो । यस खेलको खेलकुद टाईम्सले प्रत्यक्ष प्रशारण गर्नेछ।