झापा। सेनाको त्रिभुवन आर्मी क्लब बीरगञ्जमा जारी प्रो टि-२० क्लब च्याम्पियनसिपमा विजयी भएको छ। उसले पर्सालाई ६६ रनले पराजित गरेको हो ।
अलराउण्डर कुशल मल्लले उत्कृष्ट प्रदर्शन गरेपछि प्रो क्लब टि-२० च्याम्पियनसिपमा सेनाको त्रिभुवन आर्मी क्लबले पर्सालााई एक सय ६० रनको लक्ष्य दिएको थियो ।
एक सय ६० रनको लक्ष्य लिएर जबाफी ब्याटिङ गरेको पर्साले ९ विकेटको क्ष्यतिमा मात्र ९३ रन बनााउन सक्यो । पर्साका कप्तान संदीप लामिछानेले सर्बाधिक अविजित ३२ रन बनाएपनि अन्यले खासै प्रदर्शन गर्न सकेनन् । बलिङतर्फ आर्मीका सहाब आलम र बसिर अहमदले समान ३ विकेट लिए ।
यसअघि नारायणी क्रिकेट ग्राउन्ड बिरगंजमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ७ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको थियोे।
उसका लागि कुशल मल्लले बिष्फोटक ब्याटिङ गरे । उनलेे ३९ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ६३ रन बनाए । त्यस्तै विनोद भण्डारीले १६ बलमा ३ चौका र १ छक्कासहित २६ रा बनाउँदा सन्तोष कार्की १६ रनमा आउट भए ।
त्यस्तै रोहित पौडेलले १४ बलमा २ चौकासहित १३ रन बनाउँदा विवेक यादवले १२, राजेश पुलामीले ९ र भीम सार्की ३ रनमा चित्त बुझाए ।
बलिङतर्फ पर्साका कप्तान सन्दीप लामिछाने, पवन सरार्फ, नसारुदीन अन्सारी, रन्जित कुमार र रुपेश सिंहले समान १-१ विकेट लिए । जितसँगै आर्मीको तीन खेलबाट ६ अंक भएको छ। आर्मी शिर्ष स्थानमा छ।