वीरगन्ज। शेर मल्लले २ ओभर २ बलमा ३ रन खर्चेर ५ विकेट लिएपछि नेपाल पुलिस क्लबले प्रो क्लब टि-२० च्याम्पियनसिपमा एपीएफमाथि ८९ रनको शानदार जित निकालेको छ। मल्लसँगै ललित राजवंशीले ३ ओभरमा १४ रन खर्चेर २ विकेट तथा सागर ढकाल र आरिफ शेखले १–१ विकेट लिदा एपीएफ मात्रै ५१ रनमा अल आउट भएको थियोे ।
एक सय ४१ रनको विजयी लक्ष्य पछ्याएको एपिएफ १३.२ ओभरमा ५१ रनमा समेटिएको थियोे। एपिएफका प्रदीप ऐरीले २३ बलमा १ चौका र १ छक्कासहित सर्वाधिक २२ रन बनाए भने १० खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।
उसका आसिफ शेख र हरिशंकर शाह ८, सुमित महर्जन ९, सन्दीप जोरा र अमर सिंह राउटेला १–१ रनमा पेवेलियन फर्किदा लोकेश बम, विपिन खत्री, अभिनाश बोहोरा, कमल खत्री र रमेश कुर्मी डक आउट भए ।
त्यसअघि नारायणी क्रिकेट ग्राउन्ड बिरगंजमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पुलिसले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४० रन बनाएको थियो ।